२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गीत/साहित्य

प्रलेस प्रदेश समितिको आयोजनामा कवि आचार्य अ. को  कृति ‘मेरो यात्रा’ सार्वजनिक

Author Uttari Morang
आइतबार, माघ ०८, २०७९
प्रलेस प्रदेश समितिको आयोजनामा कवि आचार्य अ. को  कृति ‘मेरो यात्रा’ सार्वजनिक

कवि आचार्य अ. को  कृति ‘मेरो यात्रा’ नामक खण्ड काव्य सार्वजनिक गरिएको छ ।
शनिबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमका बिच अमृत आचार्यको कविता संग्रह “मेरो यात्रा” सार्वजनिक गरिएको हो ।
प्रगतिशिल लेखक संघ (प्रलेस) १ नं प्रदेशको आयोजनामा भएको लोकार्पण तथा प्रतिनिधि रचना वाचन कार्यक्रममा प्रलेसका केन्द्रीय महासचिव डा.  देवी दुलाल क्षेत्री प्रमुख अतिथि थिए ।
कार्यक्रममा  प्रलेस नेपालका केन्दीय सदस्य राजेन्द्र सङ्ग्रौला, साहित्यकार एवम् पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नं १२ का अध्यक्ष रोशनप्रसाद ढकाल, संविधान सभा सदस्य मधु गुरुङ, स्रष्टा एवम् सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रेमप्रसाद भट्टराई, क्याम्पस प्रमुख चन्द्रमणि राई, अच्छा रसिक राई, लेखनाथ घिमिरे,लगायतको उपस्थिति थियो ।

त्यसैगरी अग्रज स्रष्टा कृष्ण बिनोद लम्साल, केशवकुमार सुनाम, रामबिक्रम थापा, बेलबारीका स्रष्टाहरू इरान राई, केशु विरही, धनजीत पराजुली, रेखा सुवेदी, गणेश लामा आँसु, विराट साहित्य समाजका अध्यक्ष उमानाथ भट्टराई, दमक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष होमनाथ भण्डारी, बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष रमेश निरौला, जेफाले सिर्जना डबलीका युवराज ठकुरी लगायत करिब डेढ सय लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि सङ्क्षिप्त टिप्पणी गर्दै कवि, समालोचक तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका विभागीय प्रमुख डा. दीपकप्रसाद न्यौपानेले  न्यौपानेले कवितामा कवि आचार्यको व्यक्तित्व र सिर्जन क्षमता प्रष्टसाथ मुखरित भएको तथा यो प्रदेश नं १ कै महत्त्वपूर्ण कृति रहेको बताए ।

समालोचकसमेत रहेका प्रमुख अतिथि डा. देवी दुलाल क्षेत्रीले प्रलेस नेपालले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउँदै  सर्जकहरुले शोसित र पीडितका लागि लेख्नुपर्ने बताए  ।

नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य विभागमा प्रमुख तथा प्राज्ञ देवी नेपालले आचार्यका कृति भित्र सङ्ग्रहित कविताहरू अब्बल रहेको बताए ।  नेपालले कवितामा शब्द सौन्द्रय, भाव गाम्भिर्य र लयमा माधुर्य यी तत्व अनिवार्य रहेको बताए ।
कार्यक्रमका अध्यक्ष एवम् प्रलेस, नेपाल १ नं प्रदेशका अध्यक्ष तिला लेकालीले उत्कृष्ट कृतिको लोकार्पण गर्ने अवसर प्रदान गरेकोमा लेखक र सहभागिताको लागि सबै साहित्यप्रेमी मनप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, प्राज्ञ सुभद्रा भट्टराई, साहित्यकार भवानी क्षेत्री, कविराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने सबैले आचार्य अ। को विद्वताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा साहित्यिक सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा कवि बिन्दु दाहाल मुकदर्शक, टीका आत्रेय, सुमी पोखरेल, सरस्वती न्यौपाने, छवि वैरागी घिमिरे लगायतले  लोकार्पित कृति भित्रका रचना वाचन गरेका थिए । कार्यक्रममा कलाकार सञ्जीव धिमालको साङ्गितिक प्रस्तुति पनि रहेको थियो ।
भाषा र साहित्यका क्षेत्रमा निकै अब्बल मानिने कवि आचार्यको यस अघि नै २०६३ मा ‘हिमाल चढ्ने रहर’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।

प्रलेस प्रदेशका उपाध्यक्ष रामप्रसाद खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र सर्वहाराले गरेका थिए । कमलादेवी आचार्य प्रकाशक रहेको कूल १ सय ४८ पेजको पुस्तकमा ५४ वटा छन्दोबद्द कविता, १० वटा गद्य कविता र ५५ वटा एक शोके कविता छन् ।

प्रगतिशील लेखक संघ हालसम्म ५६ ओटा जिल्लामा बिस्तार भइसकेको छ ।