२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल

Author Uttari Morang
शुक्रबार, कार्तिक ०२, २०८१
सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल

उद्घाटन खेलमा भारतको कन्चनजंघा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौं मिनेटमा कन्चनजंघा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रधानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । झापाका गोल रक्षक सन्दीप लिम्बू गोल पोष्ट छोडेर अगाडि बढेको मौकालाई सदुपयोग गर्दै पाहुना टोलीले झापा बिरुद्ध सुरुवाती गोल गरेको थियो ।
खेलको ३५ ओैं मिनेटमा झापा खेलमा फर्क्यो ।आशिष चापागाईंले पोष्टमा प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा फर्किएको थियो । उक्त बललाई झापाका निरज कार्कीले कुनै गल्ती नगरि जाली चुमाएका थिए ।

मध्यान्तर अघिसम्म १–१ गोलको बराबरीमा रहेको खेलमा झापाले ५३ ओैं मिनेटमा अर्को १ गोल थप्यो । झापाका अभिषेक गुरुङले आशिष चापागाईंको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे । कन्चनजंघाका खेलाडीहरू सम्हालिन नपाउँदै झापा ११ ले तेस्रो गोल ठोक्यो । ५९ ओैं मिनेटमा झापाका निरज कार्कीको पासमा उत्सव राईले गोल गरे । खेलको ७० ओैं मिनेटमा उत्सव राईले अर्को १ गोल थपे । सिलिगुडीका गोल रक्षक प्रनुव लिम्बु बल नियन्त्रण गर्न अघि बढेको समयमा उत्सवले सुन्दर गोल गरे । सुरुवाती गोल खाएर निरास बनेको झापाको गोल गर्ने क्रम रोकिएन ।खेलको ७६ ओैं मिनेट भविन बोहोराको पासमा निकेश श्रेष्ठले टिमका लागि गोल गरे । ५–१ गोलले स्तब्ध भएको पाहुना टोली अन्तत पहिलो चरण बाटै खेलबाट बाहिरिएको छ ।
उद्घाटन खेलमा झापाको तर्फबाट २ गोल गर्ने उत्सव राई म्यान अफ द म्याच घोषित भए । उत्सवलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले नगद ५ हजार सहित ट्रफि प्रदान गरे । उद्घाटन खेलको म्यान अफ द म्याचको ट्रफि विवेक गुरुङले सौजन्य गरेका हुन् ।
शनिवार आयोजक एलएक्स सिटी फुटबल क्लब बेलबारी ११ र चित्लाङ फुटबल क्लब काठमाडौं बिच खेल हुनेछ ।
यस अघि एक भब्य समारोहका बिच सातौं संस्करणको गोल्डकप फुटबल प्रतियोगिता कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए । क्लबका अध्यक्ष विक्रम राईको सभापतित्वमा भएको उद्घाटन समारोहमा एन्फाका सदस्य दीपेन्द्र धिमाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।