२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
उत्तरी मोरङ

सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीहरुको ओइरो 

Author Uttari Morang
शुक्रबार, बैशाख २६, २०८२
सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीहरुको ओइरो 

विद्यार्थी अभावले धेरै सामुदायिक विद्यालयहरु तड्पिरहेका बेला मोरङ सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालयमा यस बर्ष पनि नयाँ विद्यार्थीहरुको ओइरो लागेको छ ।
विद्यालयले बैशाख १९ गते भर्ना अभियान शुरु गरेकोमा अभियान शुरु भएको एक हप्ता नबित्दै विद्यालयमा पाँच सयभन्दा बढी नयाँ विद्यार्थी थपिएका छन् । बिगत बर्षहरुमा झैं यस बर्ष पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले बताए ।
पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको विद्यालयमा यस बर्षदेखि स्थानीय मौलिक पाठ्यक्रम समेत पठनपाठन हुन थालेको छ । कक्षा ४ देखि ८ सम्म डा. राजु अधिकारीद्वारा लिखित संस्कारी बनौं भन्ने पुस्तकलाई स्थानीय पाठ्यक्रम बनाइ योग, ध्यान र ब्यायामसहित संस्कार शिक्षा पठनपाठन गराउन थालिएको प्रधानाध्यापक बस्नेतले बताए ।
सुकुनामा कक्षा ९ र १० का लागि सिभिल इन्जिनियरिङ सहित ऐच्छिक बिषयको रूपमा कम्प्युटर साइन्स, ऐच्छिक गणित, अर्थशास्त्र, र लेखा बिषयमा पठनपाठन हुने गरेको छ । यसै बर्षदेखि ऐच्छिक बिज्ञान बिषय समेत पठनपाठन गराउन थालिएको छ । त्यस्तै कक्षा ११ र १२ मा बिज्ञान, सिभिल इन्जिनियरिङ, म्यानेजमेण्ट, कम्प्युटर साइन्स, शिक्षा, होटल म्यानेजमेण्ट र कानून बिषयमा पठनपाठन हुँदै आएको छ ।
आफ्नो नानीलाई कक्षा १ मा भर्ना गर्न आएकी सुन्दरहरैंचा १० की दिपा लिम्बूले पठनपाठन राम्रो भएकोले आफुले छोरा पढाउन सुकुना नै रोजेको बताइन् ।
हाल संचालन भइरहेको कक्षा १२ को परीक्षामा सुकुनाबाट ७ सय ७८ जना विद्यार्थीहरु सहभागी छन् ।
शिक्षा बिकास समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले सुकुना मावि पुर्वकै नमूना स्कुल भएको बताए ।
विद्यालयले टाढाका विद्यार्थीहरुको आवतजावतका लागि आफ्नै ४ वटा स्कुल बससहित १० वटा बसको ब्यवस्था गरेको छ ।
सबै कक्षाकोठामा सीसी क्यामेराले निगरानी गर्ने ब्यबस्था गरिएको स्कुलमा हाल ३७ वटा कक्षाकोठामा स्मार्ट बोर्ड र अन्य सबै कोठामा प्रोजेक्टर मार्फत पठनपाठन हुँदै आएको छ ।
स्कुलले हाल ३ वटा शाखा मार्फत समेत पठनपाठन गराउँदै आएको छ । सुन्दरहरैंचा १० मा रहेको बरपिपल टोल शाखामा मण्टेश्वरी तथा वालकक्षा संचालन गदै आएको छ । त्यस्तै सुन्दरहरैंचा १२ मा अबस्थित सुकुना क्याम्पस नजिकै नगरपालिकाको सहयोगमा नवनिर्मित भवन रहेको शाखामा यसै शैक्षिक शत्रदेखि कक्षा १ सम्म पठनपाठन हुन थालेको छ । त्यसैगरी सुन्दरहरैंचा १० मा अबस्थित बाघझोडा शाखामा २० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाइ हेरचाह गर्ने ब्यबस्था गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले बताए ।
विद्यालयले यसै बर्ष बिद्यार्थीहरुलाइ संगीत सिकाउनका लागि एक सेट नौमति बाजा र ४ सेट अन्य बाजाहरु गरी ९ लाख बराबरका बाद्यवादन सामग्री खरिद गरेको छ ।
कुल ९५ वटा सेक्सनमा पढनपाठन हुँदै आएको सुकुना माध्यमिक विद्यालयमा बिहानी र दिवा शत्रमा गरी कुल ४ हजार पाँच सय विद्यार्थीहरु अध्ययनरत छन् । सुकुनामा कक्षा ११ मा ७ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै कुल १ सय ६५ जना शिक्षक र कर्मचारी कार्यरत रहेकोमा ४८ जना नेपाल सरकारको दरबन्दीमा कार्यरत छन् भने १ सय १७ जना निजी श्रोतबाट ब्यबस्थापन हुनेगरी कार्यरत छन् ।