केराबारी गाउँपालिकाको आ. व. २०८२/0८३ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न
Uttari Morang
मोरङको केराबारी गाउँपालिकामा आर्थिक वर्ष २०८२/0८३ को भए गरेका विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार केराबारी गाउँपालिकाको हलमा पालिका अध्यक्ष सुमन मिरिङचङ मगर, उपाध्यक्ष मनमाया मगर र प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, बिभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो। संयन्त्र मिडिया एण्ड कल्चर प्रा.लि. को सहजीकरणमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा वडा कार्यालय ,टोल विकास संस्था, विद्यालय, प्रहरी कार्यालय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरू लगायत सर्वसाधारणहरूको समेत उपस्थिति थियो । कार्यक्रममा गाउँपालिका, वडा कार्यालय तथा पालिका अन्तर्गत विभिन्न कार्यालयबाट भए गरेका सेवा प्रवाह, विकास निर्माण, खर्चको अवस्था आदिको बारेमा जानकारी दिइएको थियो ।
सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केराबारीका अध्यक्ष प्रेम लावती, मोरङ आदर्श सेकेन्डरी स्कुलका सञ्चालक प्रेम कार्की, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य लालबहादुर बस्नेत, शिक्षक महासङ्घ केराबारीका अध्यक्ष वसन्तकुमार श्रेष्ठ लगायत सुमन प्रधान, हर्कमाया श्रेष्ठ, यम बराइली लगायतले प्रश्न सोधेका थिए । सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले सिचाई , खानेपानी, शिक्षा, स्वास्थ्य, सामुदायिक वन, खोला ठेक्का, दुर्व्यसनी नियन्त्रण, लगायतको विषयमा प्रश्न गरेका थिए भने उठेका प्रश्नहरूको गाउँपालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतले जवाफ दिएका थिए ।
उल्लेख्य सर्वसाधारणहरू समेतको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले सार्वजनिक सुनवाई अघि गरिएको सेवाग्राही अभिमत र बहिर्गमन अभिमत का सूचकहरु सकारात्मक रहेको र सीमित साधन स्रोतका बावजुद पालिका विभिन्न हिसाबले विकासको क्रममा अगाडि बढेको भन्दै प्रशंसा समेत गरेका थिए।
सार्वजनिक कार्यक्रममा सहभागीहरूले सोधेका प्रश्नको उत्तर दिँदै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले केराबारी गाउँपालिका वडा नम्बर २ र ७ मा गत वर्षदेखि नै लिम्बु भाषामा पठनपाठन गराउन सुरु गरिएको जानकारी दिए। विद्यार्थी कम भएका तीनवटा विद्यालयहरू अन्य विद्यालयमा मर्ज गर्नका लागि गाउँपालिकाले प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए । 
पालिका अध्यक्ष मगरले आफूहरू निर्वाचित भएपछि स्वास्थ्य चौकीलाई पालिका अस्पताल बनाई एमबिबिएस डाक्टर सहित बिभिन्न सेवा दिइरहेको र आँखा उपचार जस्ता सेवाहरु पनि सञ्चालन गरिएको बताए । हाल पालिका अस्पतालको भवन निर्माण भइरहेको र निकट भविष्यमै डिजिटल एक्सरे र भिडियो एक्सरे मेसिन खरिद गरी विशेषज्ञ डाक्टर राखेर पालिका अस्पतालबाट नै २४ घण्टे सेवा दिने योजना रहेको मगरले बताए ।
सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै केराबारी गाउँपालिका की उपाध्यक्ष मनमाया मगरले रोजगार शाखा मार्फत प्लम्बर, इलेक्ट्रोनिक, बारिस्ता, कफी बनाउने लगायत १४ वटा शीर्षकमा १० वटै वडाका १४६ जना तालिम लिएर रोजगार भएको बताइन्। तालिम लिएका व्यक्तिहरूले साबुन, सरफ, हार्पिक, फिनेल आदि बनाएर बेचिरहेको उनले बताइन् । उपाध्यक्ष मगरका अनुसार सामुदायिक वनहरूसँगको साझेदारीमा गाउँपालिकाले फलफुलका बिरुवा, रबर खेती आदि रोप्ने र पोखरी निर्माणका लागि समेत वानाहरुसंग सहकार्य गर्दै आएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले गाउँपालिकाका जनप्रतिनिधिहरुले बनाएको र नीति कार्यक्रम अनुसार कर्मचारी प्रशासनले मेहनतका साथ काम गरिरहेको र गाउँपालिकाको समग्र विकासका लागि आगामी दिनमा पनि लागि रहने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाकी पूर्व उपाध्यक्ष शान्तिकुमारी भुजेलले आफूहरूले सुरु गरेका कामलाई अहिलेका जनप्रतिनिधिले पूर्णता दिएको र जनताका समस्या र गाँसवासका सवालमा जनप्रतिनिधिहरु दत्तचित्त भएर लागेको आफूले महसुस गरेको बताइन् । गाउँपालिकाले धेरै राम्रा कामहरु गरेपनि सूचना सम्प्रेषणमा पछि परेकोले भए गरेका कामको पर्याप्त प्चारचार र प्र्सार गर्उन नले आग्रह गरिन् । उनले बाँदर नियन्त्रणका लागि योजना बनाउन गाउँपालिकालाई सुझाव दिइन्।
सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार अरुण बरालले युवा अबस्सुथामा अस्ट्रेलियाको सुबिधा सम्पन्न जीवन छाडेर पालिका अध्यक्ष जनताका कामका लागि सक्रिय रहेकोमा धन्यवाद दिए। जेएनजी आन्दोलनका क्रममा समेत केराबारी क्षेत्रमा कुनै क्षति नहुनुमा गाउँपालिका र जनप्रतिनिधिहरूको भूमिका रहेको उनले बताए। आफू केराबारी गाउँपालिका क्षेत्र को बासिन्दा र कानुनको बिद्यार्थी भएको नाताले केराबारीको बिकास र समृद्दीका लागि सक्दो सहयोग गर्ने उनले बताए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजकर्ता संयन्त्र मिडिया एण्ड कल्चर प्रा.लि. को तर्फबाट बाबुराम निरौलाले कार्यक्रम संचालन गरेका थिए ।






