राधानागरस्थित सिंहदेवी सामुदायिक वनको २३औ बार्षिक साधारणसभा सम्पन्न
उत्तरी मोरङ
मोरङको बेलबारी ८ मा अवस्थित श्री सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको २३औ बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता र सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह का अध्यक्ष लक्ष्मण तामाङको अध्यक्षतामा मंगलबार साधारण सभा सम्पन्न भएको हो । राधानगर स्थित गौथली चोकमा रहेको वन समूहको कार्यालय परिसरमा भएको साधारण सभामा सामुदायिक वन उपभोक्ता महासङ्का केन्द्रीय सदस्य तथा साविक बाहुनी गाविसका पूर्व अध्यक्ष रोहिणी प्रसाद गौतम, सबडिभिजन वन कार्यालय बेलबारीका प्रमुख सत्यनारायण झा लगायतको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभामा सामुदायिक वनका अध्यक्ष लक्ष्मण तामाङले आम्दानी र खर्च विवरणसहित कार्य प्रगति प्रतिवेदन एवं भावी कार्ययोजनाहरू प्रस्तुत गरेका थिए । अघिल्लो वर्ष सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह मोरङ जिल्लामा उत्कृष्ट घोषित भई पुरस्कृत भएको र अब गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गर्न सामुदायिक वन सक्षम रहेको अध्यक्ष तामाङले बताए । साधारण सभामा अध्यक्ष तामाङले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यस सामुदायिक वनले आर्थिक वर्ष २०८२/०८३ को अवधिमा काठ, लाथ्रा, दाउरा आदि बिक्रीसहित बैंक ब्याज, दण्ड जारीवाना, उपभोक्ता प्रवेश शुल्क, वन संरक्षण शुल्क र घाँस बिक्री लगायतबाट जम्मा ६२ लाख १९ हजार ६१ रुपयाँ, २० पैसा आम्दानी गरेको थियो ।
सामुदायिक वनले आर्थिक वर्ष २०८२/ ०८३ को अवधिमा विपन्न उपभोक्ताहरू मध्येबाट ६० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराएको थियो । त्यसैगरी गरिबी निवारण कार्यक्रम अन्तर्गत यस वनले श्री सुकना आधारभूत विद्यालयलाई ५५ हजार र रणपाल आधारभूत विद्यालयलाई ४० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएको थियो। त्यस्तै जनता माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १४ जना विद्यार्थीहरूलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको वनले जनाएको छ । गतवर्ष वनले ब्लक नम्बर ५ अन्तर्गत चिसाङखोला उकास क्षेत्रमा करिब ५ सय खयरका बिरुवा रोपेको थियो भने ट्याक्टरले जोतेर १० केजी खयरको बिउ छर्ने काम भएको थियो । वनले चिसाङ खोला किनारमा करिब अढाई सय बाँसका बिरुवा रोपेको थियो।
आर्थिक वर्ष २०८२/ ०८३ को अवधिमा बनले ब्लक नम्बर ४ अन्तर्गत मानेचौरीमा एक हेक्टर क्षेत्रफलमा घेराबारा गरी करिब ७०० भन्दा बढी कागतीको बिरुवा रोपेको थियो । त्यसैगरी गौथली बजार व्यवस्थापन गर्नका लागि वनले १ लाख रुपैयाँको लागतमा ट्रस्ट र टिनको छान लगाउने काम गरेको थियो । सामुदायिक वनले गौथली चोकमा ५० हजारको लागतमा गौथलीको प्रतिमा समेत निर्माण गरेको छ । वनले एम्ब्रियो खेलमैदान अगाडि बनेको कम्पाउन्डवाल निर्माणका लागि एक लाख बराबरको इट्टा खरिद गरी हस्तान्तरण गरेको थियो । वनले टोलकपका लागि २० हजार सहयोग गरेको थियो । अघिल्लो आर्थिक वर्षमा पूजास्थल घेराबारा, झाडी सफाई तथा गोडमेल, फलैचा निर्माण जस्ता कार्यहरू गरेको सिंहदेवी सामुदायिक वनका अध्यक्ष लक्ष्मण तामाङले २३ औँ वार्षिक साधारण सभामा पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले वनजङ्गलमा भएका जडीबुटी लगायतका वनस्पति र बिरुवाहरु पहिचान गर्न सके मानिसहरूले उपचारका लागि अस्पताल धाउन नपर्ने बताए । वनजङ्गलमा वन्यजन्तुको आहाराका लागि फलफुल जन्य बिरुवाहरू रोप्ने लगायतका कार्यहरू गर्दै आएको बताउँदै राईले वन को विकास र विस्तारका लागि नगरपालिकाले सामुदायिक वनहरूसँग सहकार्य गरिरहेको र भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए ।
साधारण सभामा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्का केन्द्रीय सदस्य तथा साविक बाहुनी गाविसका पूर्व अध्यक्ष रोहिणी प्रसाद गौतमले सिंहदेवी सामुदायिक वन गत वर्ष जिल्लामै उत्कृष्ट सामुदायिक वनको रुपमा पुरस्कृत भएको स्मरण गर्दै यस सामुदायिक वनले धेरै नमुनायोग्य कामहरू गरेको बताए ।
वनका सचिव बिमल लिम्बुले सञ्चालन गरेको २३ औँ वार्षिक साधारण सभा कार्यक्रममा समूहकी सदस्य बिमला सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । त्यसैगरी सुकुना आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष ललित गुरुङ, शक्ति सनातन भजन किर्तन समुहका अध्यक्ष नरेन्द्र रिजाल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि हरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साधारण सभामा स्थानीय सिंहदेवी एकेडेमी, राम जानकी मन्दिर, केदारश्वर मन्दिर, लासाङ छायाङलिङ बौद्ध गुम्बा, भीमसेनथान मन्दिर, सिंहदेवी मन्दिर, स्वर्गीक मार्ग, किरात राई यायोखा लगायत विभिन्न विद्यालय को व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि एवम् विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उल्लेख्य उपस्थिति थियो ।






