आधुनिक प्रबिधिबाट निर्माण
Uttari Morang
पुर्वी नेपालमा प्रिफ्याब अर्थात आधुनिक प्रबिधिबाट निर्माण हुने भुकम्प प्रतिरोधात्मक घर तथा भवन गर्ने क्रम बढ्न थालेको छ ।
केही बर्षयता नेपालमा प्रचलित बन्दै गएको प्रिफ्याबका घर तथा भवनहरु पुर्वी नेपालमा पनि लोकप्रिय बन्न थालेका हुन् । यस क्रममा खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ भवन निर्माण गरेको छ ।
खोटाङका छ वटा गाविस मिलेर बनेको बराहपोखरी गाउँपालिकाले नयाँ केन्द्र तोकिएको ठाउँमा गाउँपालिका भवन बनाउन सो भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाइएको हो ।
हालको बराहपोखरी गाउँपालिका क्षेत्रमा यसअघि खोटाङका सुन्तले, साउने, फाक्टाङ, पौवासेरा, मौवाबोटे र बराहपोखरी गरी ६ वटा गाबिस थिए । ६ वटा गाबिस हाल गाउँपालिकाका ६ वटै वडा भएका छन् । ६ वटा गाबिस मिलाएर बराहहपोखरी गाउँपालिका बनाइए पनि सबैलाई पायक पर्नेगरी बाघखोर भञ्ज्याङमा नयाँ केन्द्र तोकिएको र त्यहाँ गाउँपालिकाका कुनै संरचना नभएकोले दाताले ५ कठ्ठा जग्गा दिएको ठाउँमा गाउँपालिकाको नयाँ भवन बनाइएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताए । भवनको छानामा ट्रष्ट सहित युपिभिसी प्रयोग गरिएको छ भने इको प्यानलको बाल र आल्मुुुुनियमका झ्याल ढोका लगाइएको छ ।
सविक ६ वटै गाविस भवनमा हाल वडा कार्यालयहरु रहेपनि बाघखोर भञ्ज्याङ् भन्ने स्थानमा गाउँपालिका केन्द्र तोकिएको र गाउँपालिकाको आफ्नो कुनै संरचना नभएकोले गाउँपालिका भवन निर्माण गर्न छिटो निर्माण हुने, वातावरण मैत्री, सस्तो र राम्रो भुकम्प प्रतिरोधात्मक प्रिफ्याब प्रबिधि रोजिएको अध्यक्ष बन्जराले बताए । हाल धर्तुङस्थित वालकन्या माविको दुइवटा कोठाबाट गाउँपालिकाको काम गरिँदै आएको छ भने छेउमा एउटा घर पनि भाडामा लिइएको छ । तीन महिनाअघि भवन निर्माण शुरु गरिएको र असार अघि नै नयाँ भवनमा सर्ने योजना रहेकोे उनलेे बताए ।
गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटबाट ७५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । जसबाट ७४ लाख ६२ हजारमा ठेक्का लागेको उपाध्यक्ष गोमा मगरले बताइन् । गाउँपालिकाको ठेक्का लिने ठेकेदारले हाल विभिन्न कम्पनी मार्फत भवन निर्माण गराउँदै आएका छन् ।
यस गाउँपालिकाको कुनै पनि क्षेत्रमा पिच सडकले छोएको छैन । भएका सडक पनि अफ्ठेरा छन् । त्यसमाथि पाँचवटा कोसी मिलेर बनेको पन्चकोशी नदिमा मोटरेबल पुल छैन । त्यसैले वारी र पारी बेग्लाबेग्लै गाडी चल्छन् ।
उदयपुरको त्रियुगा नगरपालिका र खोटाङको पन्चकन्याको सिमानामा पर्ने सुन्तले भन्ने ठाउँमा पन्चकोशी नदीमा झोलुङ्गे पुल छ, जहाँ मोटरसाइकल बाहेक अन्य सवारी साउन वारपार गर्न सक्दैनन् । त्यसैले भवन निर्माणका सामग्रीहरु इको प्यानल, ट्रष्ट, युपिभिसी, झ्याल ढोका लगायतका सामग्री समेत नदी वारीबाट पारीसम्म कामदार लगाइ बोकाएर ट्याक्टरमा फेरि लोड गरी गाउँपालिकासम्म पुर्याइएको भवन निर्माणको काम गरिरहेको न्यु रोहन सप्लायर्स बिराटचोक मोरङका लक्ष्मी आचार्यले बताए । त्यहाँ मोटरेबल पुल निर्माण गर्न थालिएको भएपनि निर्माण सकिन केही बर्ष लाग्ने बताइएको छ ।
प्रिफ्याब प्रबिधि भुकम्पपछि नेपालमा मौलाउन थालेको प्रबिधि हो । पहिले काठमाण्डौं आसपासका भुकम्प प्रभावित क्षेत्रमा प्रचलित यो प्रबिधि पुर्वी नेपालमा पनि निकै लोकप्रिय बन्न थालेको छ ।
हाल पुर्वको बिर्तामोड, दमक, बेलबारी, बिराटचोक, इटहरी, धरान लगायतका विभिन्न स्थानमा भुकम्प प्रतिरोधात्मक प्रिफ्याब घर तथा भवन बनाउने कम्पनी तथा पसलहरु संचालनमा आइसकेका छन् । छिटो निर्माण हुने, वातावरण मैत्री, तुलनात्मक सस्तो र राम्रो अनि गुणस्तरीय घरहरू निर्माण हुने भएकोले पुर्वका तराई र पहाडी क्षेत्र समेत यस्ता भुकम्प प्रतिरोधात्मक घरहरू निर्माण गर्ने क्रम बढेको मोरङ बेलबारीमा रहेको पूर्वेली होम मेकर्सका प्रोप्राइटर अम्बिका भण्डारी बताउँछन् ।




